खोपको अभाव छैन, लगाइदिनुस्: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले समूहलाई कोरोनाविरुद्धको खोप लगाउन घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन् ।

सोमवार प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्रीहरुसँग छलफल गर्दै लक्षित समुहलाई कोरोनाविरुद्धको खोपमा पहुँच पु¥याउनका लागि घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेका हुन् ।

सरकार सम्पूर्ण नेपालीलाई खोप दिन तयार रहेको र खोपको अभाव नरहेको भन्दै प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए । मन्त्री खतिवडाले पुष महिनाभित्रमै खोप लगाउनेहरुको प्रतिशतमा वृद्धि हुने विश्वास पनि व्यक्त गरे ।

उनले भने – ‘हाम्रो आव्हान भनेको सरकार सम्पूर्ण नेपालीलाई खोप दिन तयार छ । खोप हामीसँग छ । खोपको अभाव छैन, लगाइदिनुस् । घरदैलो अभियान चालेर भएपनि हामीले लक्षित समूह सबैलाई खोप लगाउने अभियानको रुपबाट सञ्चालन गर्नुपर्छ भनेर प्रधानमन्त्रीले आव्हान गर्नुभयो । पुष महिना भित्रमा अहिले जुन प्रतिशतको जनसंख्याले खोप लगाएका छन्, त्यो भन्दा धेरै नै माथिल्लो प्रतिशतले खोप लगाउनुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।’

खोप केन्द्रहरुलाई वृद्धि गर्नुपर्ने र तिनै तहको सरकारका साथसाथै जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, विभिन्न संघसंस्था, क्लवहरुको समेत सहयोग लिएर कोरोनाविरुद्धको अभियानमा लाग्नुपर्नेमा छलफलमा जोड दिइएको पनि मन्त्री खतिवडाले बताए ।

उनले हाल १२ वर्षदेखि १७ वर्ष उमेरसमूहका विद्यार्थीहरुलाई खोप लगाइरहेकोमा गैरविद्यार्थीहरुले पनि सम्बन्धित पालिका वा वडाको सिफारिसमा सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन सकिने जानकारी दिए ।