
काठमाडाैँ : मौसम पूर्वानुमान महाशाखाले आइतवारदेखि पश्चिमी नेपालबाट प्रबेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ। महाशाखाका अनुसार पश्चिमी नेपालबाट प्रवेश गरेको उक्त प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेकाले धेरै स्थानमा वर्षा र सामान्य हिमपात हुनसक्ने छ।

सोमबार देशको पहाडी तथा हिमाली भू–भागहरूमा सामान्य देखि पूर्णतया बदली र तराईका भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । त्यसैगरी उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।



मंगलबार र बुधवार पश्चिमी न्यून चापीय प्रणाल देशभर फैलिई सामान्यदेखि पूर्णतया वदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका धेरै स्थानहरुमा हिमपातको संभावना रहेको विभागले जनाएको छ । सो प्रणाली बिहीबारदेखि क्रमिक रुपमा कमजोर बन्दै जाने सम्भावना रहेको मौसम विभागले उल्लेख गरेको छ ।

यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागको सूचनामा उल्लेख छ ।