बालेन र हर्क साम्पाङको फेसबुकमा वाकयुद्ध

इटहरी। अहिले सामाजिक संजालमा धरानका स्वतन्त्र मेयर हर्क साम्पाङ र काठमाडौंका स्वतन्त्र मेयर बालेन शाह बीचमा जुहारी चलेको छ । जुहारीको फायर हर्क साम्पाङले ठट्टा गर्दै सुरु गरेका थिए ।

उनले लेखेका थिए, ‘जसले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ । कमसे कम काम त सुरु गरे ।’

यो पोस्टमा बालेनको कमेन्ट आयो, ‘हो नी तपाइकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि जेतेको हो नी ।’
साम्पाङको पोस्टमा जस्तै हजारौँले बालेनको कमेन्टमा पनि लाइक गरेका छन् ।

बालेनलाई कमेन्टमै प्रतिकिया चै हर्कले दिएका छैनन् । उनले पुनः अर्को पोस्ट गर्दै भनेका छन्, ‘आलोचना नै सुझाब हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा ।’
यसमा बालेनको कुनै कमेन्ट छैन ।

हर्कले पुनः तेस्रो पोस्ट गर्दै केहि आक्रोशको भाषा प्रयोग गरेका छन् । उनले भनेका छन्, ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइदैन । मुख बजाउन छाडेर पाखु बजाउ नालायक हो । नामले खाएकाहरु हो । तिमेरुको रिस उठोस बेस्सरी । काम गर काम हावा तालका हो ।’

पोस्टमा आएका प्रतिक्रियाहरुमा हर्कलाई धेरैले संयमित हुन र पोस्ट कम गर्न सुझाएका छन् । बालेनको कमेन्टमा भने बहुसंख्यकले ‘साभेज’ भन्दै सहमतिको प्रतिक्रिया दिएका छन् ।