
टीकापुर- कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का अर्जुन दासको परिवारले उनको शव बुझेर लगेका छन् ।
हिजो भएको सर्वपक्षीय छलफलपछि जानकी गाउँपालिकाले माग सम्बोधनका लागि ६ बुँदे लिखित सहमति गरेपछि उनका परिवारले आज शव बुझेका इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।
गाउँपालिका कार्यालयले पीडित परिवारलाई किरिया खर्चबापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने, दोषीलाई कारबाहीको दायरामा ल्याउने, मृतककी छोरीलाई उच्च शिक्षा पढाउने जिम्मा लिने, परिवारको एक जना सदस्यलाई रोजगारी लगाउन प्रदेश सरकारसँग अनुरोध गर्ने, सम्बन्धित निकायसँग समन्वय गरेर दासको सालिक बनाउन पहल गर्ने सहमति भएको छ ।
पीडित पक्षले उठाएका शहीद घोषणा र दासको नामबाट अमरावती सामुदायिक वनको नामकरण गर्ने माग गाउँपालिकाको क्षेत्राधिकारभित्र नपर्ने भएकाले यी दुई बुँदामा छलफल नभएको गाउँपालिकाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी, इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा, गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीसहितका जनप्रतिनिधि, दासको न्यायका लागि गठित सङ्घर्ष समितिका संयोजक तथा सदस्यहरूको उपस्थितिमा छलफल भएको थियो ।
गत पुस २ गते साँझ घरबाट निस्किएका अर्जुनको शव घाँटी रेटी हत्या गरी रुखमा बाँधेको अवस्थामा ३ गते स्थानीय अमरावती सामुदायिक वनमा फेला परेको थियो ।