
एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इस्लामिक स्टेट समूहका नेता अबु बकर अल-बग्दादी अमेरिकी फौजद्वारा सिरियामा मारिएको घोषणा गरेका छन्।

ह्वाइट हाउसमा बोल्दै ट्रम्पले सुरुङभित्र अलबगदादीले आफूले लगाएको एउटा ‘सुसाइड भेस्ट’ विस्फोट गराएको बताए।



अमेरिकी विशेष फौजको घेराबन्दीमा परेपछि अल-बग्दादीले एउटा ‘सुसाइड भेस्ट’ विस्फोट गराएका थिए। अल-बग्दादी मारिएपछि ट्रम्पले भने, ‘अल-बग्दादीलाई समात्नु अथवा मार्नु मेरो प्रशासनको प्रमुख राष्ट्रिय सुरक्षा प्राथमिकता रहिआएको थियो। निकै कठिनाइ र मृत्यु निम्त्याएका एक क्रूर हत्यारा हिंसात्मक रूपमा निर्मूल पारिएका छन्।’

राष्ट्रपति ट्रम्पले अमेरिकी फौजको कारबाहीमा ठूलो सङ्ख्यामा अल-बग्दादीका अनुयायीहरू मारिएको र नियन्त्रणमा लिइएको बताएका छन्।
मारिनेहरूमा उनकी दुई श्रीमती पनि थिए। उनीहरूले विस्फोट हुने भेस्ट लगाएका थिए, तर त्यसलाई उनीहरूले विस्फोट गराएनन्।
आईएसका नेता अलबग्दादी विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति ठानिन्थे। सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारीक रूपमा आतङ्ककारी तोक्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार घोषणा गरेको थियो।
इराक र सिरिया क्षेत्रमा क्यालिफेट अर्थात् ईश्वरका प्रतिनिधिबाट शासित राज्यको घोषणा गरेपछि अल बग्दादी सन् २०१४ मा चर्चामा आएका थिए। इस्लामिक स्टेटले गरेका कैयौँ हत्याका घटनामा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन्।
उक्त जिहादी समूहले करिब ८० लाख मानिसमाथि एउटा क्रूर शासन लादेको थियो। विश्वका विभिन्न स्थानमा गराइएका आक्रमणहरूमा सो समूहको हात रहेको बताइन्छ।
इराकी र सिरियाली क्षेत्रका साथै अन्यत्र पनि इस्लामिक स्टेटका लडाकुहरू सक्रिय हुँदा हुँदै संयुक्त राज्य अमेरिकाले यसै महिनाको सुरूतिर ‘क्यालिफेट’ परास्त भएको घोषणा गरेको थियो।
यसै महिनाको सुरूतिर उत्तर सिरियाबाट अमेरिकी फौजलाई फिर्ता बोलाउने निर्णय गरेका कारण व्यापक आलोचना खेप्दै आएका ट्रम्पका लागि अल-बग्दादीको मृत्यु एउटा ठूलो जित हो।