अध्यक्षको प्रतिवेदन र विधान मस्यौदामाथि सामूहिक छलफलको निष्कर्ष प्रस्तुत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनको तेस्रो दिनको बन्द सत्रमा अध्यक्ष पुष्पकमला दाहालको राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथि समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न सुरु गरिएको छ ।

बुधबारबाट महाधिवेशनस्थल प्रज्ञा भवन, कमलादीमा समूहगत छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत गर्न थालेका हुन् ।

प्रज्ञा भवनमा सोमबार आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज, पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

अधिकांश समूहले वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफल गरेपनि केही समूहले नसकेकाले बुधबार अपरान्ह १२ बजेसम्म छलफल गरेका थिए । समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न प्रत्येक समूह प्रमुखलाई १५ मिनेटको समय दिइएको छ ।

अहिले प्रतिवेदनका सकरात्मक तथा नकरात्मक सुझाव तथा टिप्पणी समूहका टोली नेताले प्रस्तुत गरिरहेका छन् ।

समूहगत छलफलका निष्कर्ष सुनाउने काम सकिएपछि यी दुई प्रतिवेदन सुझावहरुसमेत समेटेर पारित हुने छन् । त्यसपछि महाधिवेशन नेतृत्व चयनमा प्रवेश गर्ने छ ।