
काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सामूहिक खेती पद्धति अपनाउन कृषकलाई सुझाव दिएकी छिन् ।

खेतीयोग्य जमिन घडेरी बनाउँदा खेती हुने जमिन घट्ने क्रम बढेको भन्दै त्यसलाई रोक्न र उत्पादकत्व वृद्धि गर्न समूहिक खेती प्रणाली प्रभावकारी हुने बताएकी हुन् ।



ललितपुर महानगरपालिका–२१ मा रहेको नख्खु खोलामा खोकना राजकुलो मुहान निर्माणको शिलान्यास गर्दै मन्त्री भुसालले यसका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताइन् ।ललितपुरको उत्तर–पश्चिममा अवस्थित खोकना राजकुलो सिँचाइ प्रणाली करिब ३०० वर्ष अघिदेखि सञ्चालनमा आएको मानिन्छ ।

कृषि उत्पादनमा मुख्य गरी तोरीको तेल र संस्कृतिका हिसाबले परिचित सो क्षेत्रमा सहज सिँचाइ व्यवस्थाका लागि राजकुलो मुहान मर्मत गर्न लागिएको हो । सो राजकुलोको सञ्चालन विगतमा गाउँका मुख्य व्यक्तिबाट हुँदै आएकामा हाल खोकना राजकुलो व्यवस्थापन समिति गठन गरेर सञ्चालन गरिँदै आएको छ ।
स्थानीय कृषकको मागलाई ध्यानमा राखेर आवश्यकता र पहिचानका आधारमा चालू आर्थिक वर्ष मन्त्रालयले मुहान संरक्षणका लागि एक करोड ३२ लाख रुपियाँ र नहर निर्माणका लागि ४० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
संविधानमा उल्लेख गरिएको समाजवादको यात्राका लागि जनताको जीवनस्तर माथि उठ्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, “हामीले भनेको समाजवाद हाम्रै सीप र परिश्रमबाट आउने हो । त्यसका लागि हामीले निरन्तर सिर्जनशील काम गर्नुपर्छ । ”
कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले ऐतिहासिक खोकना राजकुलोको संरक्षण र संवद्र्धनमा मन्त्रालयले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै स्थानीय उपभोक्ताले सही सदुपयोग गरेर उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिईन् ।