
कोभिडको जोखिम र संक्रमण बढ्दै गएपछि भरतपुर अस्पतालमा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको छ।
भरतपुर अस्पताल प्रशासनले सूचना जारी गर्दै आज आइतबारदेखि लागू हुनेगरी जनरल ओपिडी तथा रुटिन अपरेसन सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको जनाएको हो।
अस्पताल प्रशासनद्वारा जारी सूचनामा विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना सङ्क्रमणबाट अस्पतालमा सबै विभागमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायत कर्मचारी धेरै संख्यामा सङ्क्रमित भई आइसोलेसनमा रहेको अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक शल्यक्रियाबाहेक अन्य सेवा स्थगित गरिएको जनाइएको छ।
अस्पतालले यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेको जनाउँदै अस्पतालमा आकस्मिक सेवा लिन आउने सेवाग्राहीले पनि अनिवार्य रूपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नसमेत अनुरोध गरेको छ।
संघीय अस्पताल भरतपुरमा देशका २४ वटा जिल्लाबाट दैनिक तीनहजारको हाराहारीमा बिरामी उपचारका लागि आउने गर्दछन्।