अमेरिकासँग सम्मानजनक सम्बन्ध चाहन्छौं : रसिया

एजेन्सी : रसियाली विदेशमन्त्री सर्गेई लाभरोभले रसियाले अमेरिकासँग ‘पारस्परिक सम्मानजनक’ सम्बन्ध चाहेको बताएका छन्। युक्रेन संकटलाई लिएर अमेरिका र रसियाबीच तनाब चर्किरहेकै बेला विदेशमन्त्री लाभरोभको भनाई सार्वजनिक भएको हो।

‘विश्वका अन्य देशहरुसँग झैँ हामीले अमेरिकासँग राम्रो, समान र पारस्परिक सम्मानजनक सम्बन्ध चाहन्छौं,’ रसियाको समाचार च्यानल ओनसँगको अन्तर्वार्तामा लाभरोभले भने । उनले अगाडि भने, ‘हामी एउटा त्यस्तो अवस्थामा बस्न सक्दैनौं जहाँ दैनिक हाम्रो सुरक्षामाथि धावा बोलिन्छ ।’

युक्रेनसँगको सीमामा रसियाले एक लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ। रसियाले युक्रेनमाथि अतिक्रमणको आशय नभएको बताए पनि पश्चिमालगायतका देशहरुले रसियाले युक्रेमाथि हमला गर्न खोजेको बताउँदै आएका छन्। सन् २०१४ को युद्धपछि रसियाले युक्रेनको महत्वपूर्ण भाग क्रिमियालाई आफ्नो भूभागमा विलय गराएको थियो।

सीमामा रहेका फौज हटाउन रसियामाथि बढ्दो अन्तर्राष्ट्रिय दबाब छ। रसियाले कुनै पनि बेला युक्रेनमाथि अतिक्रमण गर्न सक्ने वासिंगटनले बताउँदै आएको छ। तर, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सिकीले आक्रमणबारे अनावश्यक त्रास सृजना नगर्न पश्चिमेली गठबन्धनलाई अनुरोध गर्दै आएका छन् ।

पूर्वी युरोपमा नेटोको अतिक्रमण बढेको भन्दै रसियाले वासिंगटन र अमेरिकी नेतृत्वको सैन्य गठबन्धनसँग सुरक्षा माग गरेको छ ।