
सर्लाही, चैत १३ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फूलजोर खोलाकाे पुलमा आइतबार मध्याह्न बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । वीरगञ्जबाट जनकपुरका लागि छुटेको ना. ४ ख ८५५५ नम्बरको बस लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि लालबन्दीको मोडेल र गढिमाई अस्पताल ल्याइएको स्थानीयले बताएका छन् ।



सोमध्ये चार जनालाई चिकित्सकले मृत घोषणा गरेको सर्लाहीका ट्राफिक प्रहरी प्रमुख एवम् ट्राफिक प्रहरी निरीक्षक केदारमान दोङले बताए ।

ट्राफिक प्रहरी निरीक्षक दोङका अनुसार मृतकहरूको सनाखत भइसकेको छैन । घाइतेको उद्धार गरी लालबन्दीका विभिन्न अस्पतालमा ल्याइएको छ । गम्भीर घाइतेलाई लालबन्दीबाट अन्यत्र रेफर गर्ने क्रम भइरहेको अस्पतालले जनाएको छ ।
दुर्घटनामा बस चालक घाइते भएको प्रहरीले जनाएको छ । बस दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ ।