
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सचिवालयमा पहिलेदेखि नै स्वकीय सचिव रहेका भानु देउवालाई प्रमुख स्वकीय सचिव नियुक्त गरेका छन् भने आइटी विज्ञमा दिपेश विष्टलाई नियुक्त गरेका छन्।

प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, आर्थिक सल्लाहकार, प्रेस सल्लाहकारलगायत मुख्य पदमा भने प्रधानमन्त्रीले अहिलेसम्म कसैलाई पनि नियुक्त गरेका छैनन्। नेपाली कांग्रेसका सभापति देउवा असार २९ मा प्रधानमन्त्री भएका थिए।



यसबीचमा देउवाले कानुनतर्फ केशवराज जोशी र प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाललाई सचिवालयमा नियुक्त गरिसकेका छन्।

साथै नुवाकोटका किरण गजुरेललाई प्रधानमन्त्री देउवाले भाषण तथा वक्तव्य विज्ञका रूपमा नियुक्त गरेको स्रोतको भनाइ छ।
प्रमुख राजनीतिक सल्लाहकारमा पूर्वसहमहामन्त्री प्रकाशशरण महत र केन्द्रीय सदस्य रमेश लेखकको नाम चर्चामा छ। तर यी पदमा देउवाले तत्काल नियुक्त गर्ने सम्भावना कम छ।
‘प्रधानमन्त्रीले तत्काल सल्लाहकारहरू नियुक्त गर्नेजस्तो देखिँदैन,’ सचिवालय स्रोतले भन्यो, ‘काम गर्न सजिलो होस् भनेर केही पदमा नियुक्ति भने गरिएका छन्।’