१८ हजार शिक्षक दरबन्दी खुलाउने तयारीमा छौं : शिक्षामन्त्री

काठमाडौं : शिक्षा‚ विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले १८ हजार शिक्षक दरबन्दी खुलाउने बताएका छन् । प्रेस सेन्टर बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा आज बोल्दै मन्त्री पौडेलले आन्तरिक बढुवा खुलाउने, नयाँ दरबन्दी खोल्ने र विद्यालय मर्जको अभियान थाल्ने बताएका हुन् ।

देशभरका विद्यालय र शिक्षक अनुपात अध्ययन गरेर दरबन्दी थप्न सरकार तयारीमा पुगेको उनले बताए । संघीय शिक्षा ऐन, विश्वविद्यालय ऐन र प्राविधिक शिक्षा व्यवस्थापन गर्ने नयाँ ऐन बनिसकेको र संसद्‌मा लैजाने तयारी भएकाले कानुनी समस्या पनि छिटै अन्त्य हुने बताउदै ती ऐन पारित हुँदा देशको शैक्षिक स्थितिमा धेरै सुधार हुने उनले दाबीसमेत गरे ।

बिज्ञापन

शिक्षा क्षेत्रमा सुधार ल्याउन ५५ बुँदे कार्ययोजना ल्याएको समेत मन्त्री पौडेलको भनाइ छ । ‘१८ वर्षदेखि आन्तरिक बढुवा रोकिएकाले निष्क्रिय रहेका शिक्षक पनि अब सक्रिय बन्छन्‚’ पौडेलले भने, ‘देशभरका विद्यालयको नक्सांकन गरेर भौतिक निर्माण र मानवीय स्रोतको परिचालन गर्ने पद्धति विकास गर्दैछौं ।’

अबका दिनमा शिक्षकले फाइल बोकेर मन्त्रालय धाउने चलन अन्त्य गरेर आवश्यकताको आधारमा काम हुने पद्धति विकास हुने उनले दाबी गरे । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत विद्यालयको भवन निर्माण र विज्ञानप्रविधि कक्ष स्थापना गरेर विद्यालय तहको शिक्षा गुणस्तरीय बनाउने उनले बताए ।