संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने उपेन्द्र यादवलाई कारबाही

काठमाडौं : जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी निर्णयविपरीत संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने उपेन्द्र यादवलाई कारबाही हुने बताएका छन् । कुन निर्णयका आधारमा यादवले संयुक्त सरकार गठनको लागि संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् भन्ने प्रश्न गर्दै पार्टी फुटाउन खोज्ने यादवलाई कारबाही हुने उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिने क्रममा जसपा दुई धारमा विभाजित भएको थियो । उपेन्द्र यादव र बाबुराम भट्टराई विपक्षमा उभिएर मतदान गरेका थिए भने अध्यक्ष महन्थ ठाकुर र महतो कसैको पक्षमा नलागेर तटस्थ बसेका थिए । ओलीले संसदमा विश्वासको मत नपाएपछि काँग्रेस, माओवादी केन्द्र र जसपाको नामबाट संयुक्त विज्ञप्ति जारी गरिएको थियो । काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका उपेन्द्र यादवले हस्ताक्षर गरेका त्यस विज्ञप्तिमा ओलीले विश्वासको मत गुमाएपछि संयुक्त सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष आग्रह गरिएको थियो । जसपाका उपेन्द्रले हस्ताक्षर गरेपछि मध्यरातमा अध्यक्ष ठाकुरले पनि छुट्टै विज्ञप्ति जारी गरेर वैकल्पिक सरकारमा सहभागी नहुने जनाएका थिए । जसपाको निर्णयविपरीत उपेन्द्रले हतारमा गरेको हस्ताक्षरले पार्टी फुटको संघारतर्फ उन्मुख भएको भन्दै महतोले त्यस्तालाई अनुशासनको कारबाही हुने बताए ।

‘राष्ट्रपतिजीले दुई वा दुई भन्दा बढी दल बहुमत प्राप्त सदस्यले सरकार बनाउन सक्ने भनेको छ,’ जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले भने, ‘त्यसमा जसपा पार्टी सरकारमा जाने छैन । जसपा सरकारमा जाँदैन भने कुनै व्यक्ति सरकारमा जान्छु भनेर जान पाउँदैन । यहाँ राष्ट्रपतिजीले पार्टी पो बोलाउनुभएको छ ।’ यादवको मात्र हस्ताक्षर गरेर गठबन्धन सरकार निर्माण नहुने महतोको जिकिर छ । ‘जसपा एउटा पार्टी हो । कुनै व्यक्ति सरकारमा जान्छु भनेर विज्ञप्ति निकाल्दैमा कसरी सरकार बन्छ ? उपेन्द्र यादव भनेको दल होइन । जसपाको प्रत्येक अध्यक्ष दल हो, म यो गर्छु भन्न पाउँदैन । त्यस्तो हो भने जो प्रथम अध्यक्षले लिने निर्णय नै पार्टीको आधिकारिक लाइन हुन्छ,’ उनले भने । वैकल्पिक शक्ति निर्माणमा जुटेका जसपामा हजारौं कार्यकर्ता उपेन्द्र यादवलाई कुर्सी दिलाउन पार्टी विभाजन गर्ने पक्षमा नरहेको महतोको भनाइ छ ।

‘हामी कुनै व्यक्तिलाई कुर्सी दिलाउन एकता भएका होइनौं । कुनै पनि नेता कार्यकर्ता पार्टी विभाजन गराएर सत्तारोहण गराइदिन जन्मेको होइन । पार्टी पनि जन्मेको होइन,’ उनी भन्छन्, ‘यो फोरम होइन । एक्लै उपेन्द्र यादव दौडेर सरकारमा गएर जनतालाई धोका दिने काम गर्न सक्नुहुन्न । जसपामा कसैको त्यस्तो चल्दैन । कसैले सपना नदेखे हुन्छ ।’ काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार बनाउन नसक्ने पनि महतोले दाबी गरे । ‘देउवाजी सरकार बनाउन सक्नुहुन्न । राष्ट्रपतिजीलाई पार्टी चाहिएको हो । म फेरि पनि भन्छु जसपा सरकारमा जाँदैन जाँदैन,’ उनले भने । उपेन्द्र यादवको सत्तालिप्सा पूरा नहुने पनि महतोले जिकिर गरे । ‘पार्टी फुटाएर अर्को दल बनाएर नयाँ सरकार बनाउन ​सकिला । तर, त्यसका लागि कार्यकर्ता तयार छैन । पार्टी फुटाउन फेरि लामो प्रक्रिया छ । तीन दिनमा सम्भव नै छैन । तीन महिना लाग्छ । कसरी उपेन्द्र यादवको सत्तालिप्सा पूरा हुन्छ,’ उनी भन्छन् ।

महतोका अनुसार एमालेको खनाल नेपाल पक्षका सांसदको साथ सहयोगबाट पनि नयाँ सरकार बन्न सक्ने सम्भावना छैन । उनले भने, ‘अब कुनै माधव नेपालले पनि गठबन्धनको सरकार बनाउन सक्दैन । माधव नेपालको पनि पार्टी चाहियो नि ? माधव नेपालको पार्टी खोइ ? काँग्रेस र माओवादी पार्टीको बहुमत पुग्दैन । जसपा जाँदैन ।’ काँग्रेस सभापति देउवालाई सरकार बन्न सक्दैन भनेर भेटेरै सूचना दिएको महतोले बताए । उनले भने, ‘जसपा सरकारका लागि तयार छैन । चुनावी सरकारमा जाँदा त्यतिबेला सोचौँला । किर्ते गतिविधिमा नफस्नुस्, धोका हुन्छ तपाईंलाई भनेर देउवाजीलाई हामीले प्रष्टरुपमा भनेको थियौं ।’

महतोका अनुसार जसपा सरकारमा नजाने र कुनै गठबन्धनमा सामेल नभएको कुरा प्रथम अध्यक्ष (महन्थ ठाकुर) ले राष्ट्रपतिलाई लेखेर दिनेछन् । त्यसपछि गठबन्धनको सरकार बनाउने खेल खत्तम हुने उनको दाबी छ । संवैधानिक प्रक्रियाअनुसार फेरि केपी ओली प्रधानमन्त्री हुने सम्भावना बढी देखिएको महतोको विश्लेषण छ । उपेन्द्र यादवको सत्तामोहका कारण पार्टी विभाजनको डिलमा पुगेका महतो भनाइ छ । तर, उनले आफ्नो ताकत रहेसम्म पार्टी विभाजन रोक्न लागिपर्ने उनले बताए । ‘६ वटा दल मिलाएर राजपा बनाइएको थिएँ । त्यसमा समाजवादी पार्टी छुटेको थियो । वैकल्पिक सरकार निर्माणका लागि राजपा र समाजवादी पार्टीलाई रातारात एक गराएका थियौं,’ उनी भन्छन्, ‘कसैले पार्टी विभाजन गर्न खोज्छ भने मेरो ताकत रहेसम्म म त्यसको सपना पूरा हुन दिँदैन ।’

आफ्नै लचकताका कारण आजसम्म जसपालाई विभाजनबाट रोक्ने काम गरेको महतोले बताए । तर, अब उपेन्द्र यादवमाथि कारबाही हुने उनको भनाइ छ । ‘उपेन्द्र यादवले पार्टी फुटाउने अपराध गर्दै हुनुहुन्छ । उहाँलाई अब कारबाही हुन्छ । पार्टी उहाँलाई अनुशासनको कारबाही गर्छ । गठनबन्धको सरकार निर्माणमा लागि विज्ञप्तिमा हस्ताक्षर कि गर्नुभयो ? यो पार्टी निर्णय विपरीत छ । पार्टीको कुनै आधिकारिक निर्णय भएको छैन,’ उनले भने । उपेन्द्र यादवलाई पार्टीबाट निस्काशनसमेत हुने महतो बताए । उनले भने ‘पार्टी फोडुवालाई हामी पार्टीभित्र राख्दैनौं ।