
कोरोनाको संक्रमणदर घट्दै गएपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले फागुन १ देखि फिल्म हल खोल्न सिफारिश गरेको छ। कोरोनाको ओमिक्रोन भेरिएन्टको त्रास बढ्दै गएपछि सरकारले माघ ३ देखि फिल्म हल बन्द गर्न निर्देशन दिएको थियो।

हल बन्द हुँदा पुस ३० मा प्रदर्शनमा आएको फिल्म ‘चपली हाइट ३’ जम्मा ३ दिनमात्र प्रदर्शन हुन पाएको थियो। प्रदर्शनको मिति तय गरिसकेका फिल्मले पनि मिति पछि सार्नुपरेको थियो। सिसिएमसिसिले हल खोल्न सिफारिस गरे पनि हल खुलेपछि सबैभन्दा पहिले ‘चपली हाइट ३’ नै प्रदर्शनमा आउने भएको छ। फागुन १ गतेदेखि नै फिल्म फेरि प्रदर्शनमा आउने भएको हो।



फिल्मको नयाँ प्रदर्शन मिति मंगलबार सार्वजनिक गर्दै निर्माता अर्जुन कुमारले फिल्मलाई साथ दिन आग्रह पनि गरेका छन्।

निकेश खड्काको निर्देशनमा बनेको फिल्म २०७६ चैतमै प्रदर्शन गर्ने तयारी गरिएको थियो। कोरोनाका कारण तोकिएको मितिमा प्रदर्शन हुन नसकेपछि मिति सरेर २०७८ पुसमा पुगेको थियो।
कोरोनाको दोस्रो लहरपछि बिस्तारै पहिले रोकिएका फिल्मले प्रदर्शन मिति तोकिरहेका थिए। तर, कोरोनाको तेस्रो लहर शुरु भएसँगै प्रदर्शन मिति तोकिएका फिल्मले पनि प्रदर्शन मिति सारेका थिए।