
काठमाडौं। विश्व रेडियो दिवस आज विभिन्न विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्ष विश्व रेडियो दिवसको नारा रेडियो पत्रकारितामा भरोसा भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।
स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
नेपालमा बिक्रम सम्वत् २००३ सालमा काठमाडौंमा रेडियोको प्रसारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।
रेडियोलाई सबैभन्दा प्रभावकारी सञ्चारमाध्यमका रुपमा लिइन्छ । तर, सजिलो र कम खर्चिलो सञ्चारमाध्यम भए पनि प्रविधिको विकासका कारण पछिल्लो समयमा सहरी क्षेत्रमा रेडियोको व्यापकता खुम्चिँदै गएको छ ।
तर, गाउँघर र दूरदराजमा अहिले पनि रेडियो निर्विकल्प सञ्चारको माध्यम हो । नेपालमा २०५२ सालदेखि एफएम प्रसारण सुरु भएको हो । अहिले देशका सबैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् ।
सन् १९१९ को अक्टोबरमा अमेरिकामा पहिलो पटक रेडियो खुले पनि विश्वमा औपचारिक रुपमा रेडियो प्रसारण अमेरिकाको पेन्सिलभेनिया सहरबाट सन् १९२० मा भएको मानिन्छ।