अचेत अवस्थामा भेटिएका तीनको मृत्यु

भक्तपुर । भक्तपुरको तीन छुटाछुटै स्थानमा शनिबार तीन जना मानिस अचेत अवस्थामा भेटिएका छन् । उनीहरुमध्ये दुई जनाको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नं.२ सानोठिमी बस्ने निर्मला महर्जनको तीन तले घरको भुई तलामा डेरा गरी बस्ने उदयपुर गाईघाट स्थाई वतन भएका वर्ष ४० को गणेश मगर ट्वाईलेटमा चुक्कुल लगाई अचेत अवस्थामा रहेका थिए ।

उनको श्रीमतीले फेला पारी प्रहरीलाई खबर गरेकोमा तत्कालै प्रभाग सानोठिमीबाट प्रहरी टोली खटि गई निज मगरलाई उपचारको लागि निजकै श्रीमती र स्थानियहरुको सहयोगमा कोरियन अस्पताल भक्तपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको छ ।

बिज्ञापन

यस्तै जिल्लाकै मध्यपुर थिमि नगरपालिका वडा नं. २ सानोठिमी दिव्यश्वरी प्लानिङ हलेसी मार्ट पछाडि सडकमा एकिन नामथर वतन नखुलेको अंन्दाजी ३०÷३२ वर्षको पुरुष व्यक्ति घोप्टो भई अचेत अवस्थामा छ भन्ने जानकारी प्राप्त हुना साथ अस्थाई प्रहरी पोष्ट दिव्यश्वरी प्लानिङबाट प्रहरी टोली खटि गई निज पुरुष व्यक्तिलाई उपचारको लागि कोरियन अस्पताल भक्तपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक उदयपुर कटारी ९ घर हुने वर्ष ३५ को सुरज तामाङ रहेको भन्ने मृतकको भाई प्रताप तामाङले जानकारी गराएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।
यस्तै जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ९ नङ्खेल भाराली खोलामा हाल नाम थर वतन नखुलेको अन्दाजी ४४÷४५ वर्षको, वर्ण गँहुगोरो, उचाई ५ फिट, हरियो कलरको नर्थ फेस लेखेको ज्याकेट, हरियो कलरको ट्रयाक सुट र उलनको टोपी लगाएको पुरुष व्यक्ति घोप्टो परी मृत अवस्थामा भेटिएको पाण्डेले जनाए ।