एमसीसी टेबल गर्ने गठबन्धनको निर्णयप्रति झलनाथ खनालको आपत्ति

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनले आइतबार बिहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्‌मा टेबल गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । 

उनले संविधान विपरित गठबन्धनले एमसीसी टेबल गर्ने निर्णय गरेको समेत आरोप लगाए । ‘एमसीसी अनुमोदन गर्नको लागि ऐन पनि छैन । संघीय ऐन नबनाई संसद्‌मा टेबल गर्न सकिदैन । यो संविधान विपरित पनि छ,’ खनालले  भने । 

बिज्ञापन

शनिबार मात्र आफ्नो पार्टीले एमसीसी सम्झौता परिमार्जन नगरी अगाडि नबढाउने निर्णय गरेको उनले बताए ।

‘हिजो मात्र पार्टीले निर्णय गर्ने अनि आज टेबल गर्ने भन्ने कसरी मिल्छ । यो सब गलत कुराहरू भए । विदेशीहरूको दबाबमा पार्टीहरू झुक्दै गएको कुरा यसले देखाउँछ,’ खनालले भने । 

एमसीसीको विरोध गर्ने भएकै कारण सत्तारुढ दलको आइतबार बिहान बसेको बैठकमा आफूलाई नबोलाइएको उनले जनाए ।