एमसीसीबारे छलफल हुने भनिएको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं — प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजे बस्ने भनिएको बैठक करिब २ बजेतिर स्थगित गरिएको हो । संसद् बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बिज्ञापन

बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे छलफल हुने कार्यसूची थियो ।

गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता संसदमा पेश गरेका थिए ।

विवाद

एमसीसीका बारेमा सत्ता साझेदार दलहरुबीच विवाद कायमै छ । सत्ता साझेदार दलहरुबीच एमसीसीमा सहमति नहुँदा बैठक स्थगित भएको बताइएको छ ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी पास गर्ने रणनीतिमा भए पनि सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने अहिलेसम्म एमसीसीको विपक्षमा रहेको जनाएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने औपचारिकरुपमै सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ भने अर्को सत्ता साझेदार अर्को दल जनता समाजवादी पार्टीले एमसिसीबारे औपचारिक धारणा बनाएको छैन ।