स्थानीय निर्वाचनका लागि ८० दलले दिए आयोगमा निवेदन

काठमाडौं । स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। निर्वाचन आयोगले दल दर्ताका लागि फागुन ५ गतेदेखि १५ गतेसम्मको समयसीमा निर्धारण गरेको थियो ।

उक्त अवधिमा ११० राजनीतिक दलमध्ये ८० दलले दल दर्ताको निवेदन दिएको आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए।

आयोगबाट ११० दलले मान्यता पाएकामध्ये ८० दलले मात्रै स्थानीय चुनावमा भाग लिन दल दर्ता गरेका हुन्। निवेदन लिने प्रक्रिया सकिए पनि आवश्यक कागज भए/नभएको बारे छानबिनको काम चैत २५ सम्म टुङग्याइसक्ने योजना आयोगले बनाएको छ।

दल दर्ताका लागि आएका निवेदन अध्ययन गरेर फागुन २३ भित्र आयोगले निर्णय गरी दर्ता भएका दलका नाम राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको छ। २०७९ वैशाख ३० मा स्थानीय तह निर्वाचन हुँदैछ। सरकारले निर्वाचन मिति घोषणा गरेसँगै आयोगले तीव्र रूपमा काम अघि बढाएको छ।