
काठमाडौं — नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाले बानियाँलाई सांसद पदबाट निलम्बन गरिएको सभामुख सापकोटाले जानकारी दिए ।
बलात्कार आरोप लागेका मुगुका सांसद बानियाँलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गरेको थियो । योसँगै बानियाँमाथि छानबिनको प्रक्रिया अगाडि बढेको छ ।
जुम्लाकी ४० वर्षीया शिक्षिकाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् ।
माघ २७ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिँदै शिक्षिकाले नेपालगञ्जको होटलमा बसेको बेलामा सांसद बानियाले दुई पटक बलात्कार गरेको बताएकी छन् । माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लगाइएको छ ।
बानियाँविरुद्ध बलात्कार आरोप लागेपछि गत फागुन १६ गते जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई नेपालगन्ज विमानस्थलबाट पक्राउ गरेको थियो । उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।