
काठमाडौं । काठमाडौंको रामकोटमा एकै परिवारका ५ जनाले विष सेवन गरेका छन् । प्रहरीका अनुसार नागार्जुन नगरपालिकास्थित रामकोटमा सोमबार साँझ एकै परिवारका ५ जनाले विष सेवन गरेका हुन् ।

उनिहरुमध्ये एक जनाको मृत्यु भएको छ भने चार जनाको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ। सोमबार राति अन्दाजी साढे ९ बजेतिर काठमाडौंको नागार्जुन नगरपालिका-६ डाडापौवास्थित एउटा २ तले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिई बस्ने काठमाडौं महानगरपालिका-१५ डल्लु स्थायी घर भएका सुवर्णमान प्रधान र उनका परिवारका सदस्यहरू अचेत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।



मैनालीका अनुसार ३३ वर्षीय सुवर्णमान श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरेको छ । ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधानको अवस्था गम्भीर छ । उनीहरु बोल्न नसक्ने अवस्थामा अचेत छन् । प्रहरीका अनुसार घटनास्थलमा विषको बोटल पनि भेटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
