भोजपुरमा स्वास्थ्य शिविर सम्पन्न

भोजपुर । भोजपुर जिल्लामा डा.लोचन कार्कीको नेतृत्वमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीको सक्रियतामा संघका पदाधिकारीसहित देशभरका ५० बढी चिकित्सक सम्मिलित वृहत्त निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

दुईदिन चलेको स्वास्थ्य शिविरमा करिब ४ हजारले सेवा लिएको आयोजक संस्थाहरुको दाबी छ । नेपाल चिकित्सक संघ, भोजपुर नगरपालिका र दावाँली मिलन क्लबको समन्वय सहकार्यका सञ्चालित स्वास्थ्य शिविर अहिलेसम्मकै ठूलो भएको दाबी गरिएको छ ।

स्वास्थ्य शिविरमा सेवा लिएका विरामीलाई थप उपचार गर्नु परे काठमाडौंमा लगेर निःशुल्क उपचार गरिदिने डा.कार्कीले बताए ।
स्वास्थ्य शिविरमा डा.भगवान कोइराला, डा.कार्की, डा.भुपेन्द्र कुमार बस्नेत, डा. प्रमोद जोशी, डा.सन्जुबाबु श्रेष्ठ, डा.आनन्दप्रसाद श्रेष्ठ, डा.दीपक सिग्देल, डा.योग्य खरेल, डा.फरेन्द्र शाह, डा.रबिन बस्नेत, डा.मनोज लाखे लगायतले सेवा दिएका थिए ।

त्यस्तै स्वास्थ्य शिविरमा नेपाल चिकित्सक संघका अध्यक्ष कार्कीसहित उपाध्यक्ष डा. अनिलविक्रम कार्की, शिवजी पौडेल, महासचिव डा. बद्री रिजाल, कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी र सहकोषाध्यक्ष डा. विश्वराज दवाडी पनि सेवामा खटिएका थिए । सदस्यहरू डा. सञ्जीव तिवारी, डा. विपेश आचार्यल, डा हेमन्त दाहाल, विक्रान्त ढकाललगायत पनि सेवामा खटेका थिए ।