
जनकपुरधाम । मिथिला माध्यमिक परिक्रमा आज बिहान जनकपुरधाम आइपुगेको छ। मंगलबार भारत बिहारको बिसौलमा विश्राम गरी श्रद्धालु कल्याणेश्वर महादेवको दर्शन गर्दै आज जनकपुरधामको रंगभुमी मैदान आइपुगेका हुन् । १५ दिनपूर्व धनुषाको मिथिला विहारी नगरपालिकामा रहेको कचुरी मठबाट मिथिला विहारी र जनकपुरधामको अग्नीकुण्डमा रहेको किसोरीजीको डोलाले सम्पुर्ण परिक्रमा भरि नेतृत्व गर्ने गरेका छन्। दुई डोलाको पछाडि हजारौंको संख्यामा साधु सन्तहरुले परिक्रमा गरेका छन् ।

प्रत्येक वर्ष फागुन महिनामा जनकपुर क्षेत्रको धार्मिक स्थलको परिक्रमा गर्ने चलन रहेको छ । जनकपुरको चारैतिर घुमिने यस परिक्रमामा सहभागी भएपछि एक सय आठ तीर्थ स्थल बराबरको फल प्राप्त हुने जनविश्वास रहेको श्रद्धालुहरुले बताएका छन् ।



परिक्रमामा सहभागि भएकाहरु १५ दिन सम्म आफ्नो घर नफर्कने चलन रहेको छ । परिक्रमामा सहभागी यात्रीहरुले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा तय गर्ने गर्दछन् । नेपाल र भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । सोही क्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर, फुलहर तथा महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड हुँदै परिक्रमा कञ्चनवन पुग्दछ।

कञ्चनवनमा परिक्रमावासीहरु एक आपसमा होली खेले पछि औपचारिक रुपमा होलीको शूरुवात भएको मानिन्छ । त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर जनकपुर फर्केर विश्राम गर्छन् ।
फागुन पुर्णिमाका दिन परिक्रमावासीहरु जनकपुरको अन्तगृह परिक्रमा पुरा गरेर घर फर्कने परम्परा रहिआएको छ । मिथिला महात्मयमा उल्लेख भए अनुसार वृहत, मध्यमा एवं लब्धी गरि तीन प्रकारको परिक्रमा छ जसमध्ये मध्यमा अर्थात मिथिला माध्यमिकी परिक्रमाको आफनै विशेषता छ । किसोरीजी डोलाका महन्थ नवलकिसोर शरणले परिक्रमा परिवारिक कल्याणको लागि गरिने गरिएको बताए । १५ दिन सम्म साधु सन्तहरु र श्रद्धालुहरु एकै ठाउमा बसेर भजन किर्तन गर्ने गरिएको उनले बताए ।