
एजेन्सी । ब्राजिलमा हराएको चार सातापछि दुई दाजुभाइ भेटिएका छन् । ब्राजिलको अमेजन जंगलमा हराएका ६ र ८ वर्षका दुई जना बालक झन्डै चार सातापछि भेटिएका हुन् ।
अमेजनस राज्यको मनिकोरे नजिकैको जंगलमा चरा समात्न खोज्दा गत फेब्रुअरी १८ मा हराएका ८ वर्षीय ग्लाउको फेरेरा र ६ वर्षीय ग्लेसन फेरेरा दाजुभाइ झन्डै चार हप्तापछि भेटिएको बिबिसीले जनाएको छ ।
चार हप्तापछि मंगलबार उनीहरूलाई स्थानीय रूख काट्ने मान्छेले गाउँभन्दा छ किलोमिटर टाढा भेटेका हुन् । बिबिसीका अनुसार एक जना बालकले नजिकै रूख काटिरहेको आवाज सुनेपछि सहायताको लागि चिच्याएका थिए ।
सोही आवाज पछ्याउदै जाँदा रूख काट्ने मान्छेले उनीहरूलाई जंगलमा भोको र कमजोर अवस्थामा फेला पारेका हुन् । आपतकालीन सेवाले फेब्रुअरी २४ देखि उनीहरूलाई खोज्न छाडेका थिए । तर स्थानीयले भने खोज जारी राखेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
ब्राजिलको स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरूले आमाबुवालाई भेटेपछि जंगलमा हराउँदा केही पनि नखाएको र पानीमात्र खाएर बसेको बताएका छन् । उनीहरू जंगलमा हुँदा केही खान नपाएर कुपोषणका कारण अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्