बैतडीमा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

बैतडी । बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने ट्रयाक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारू छन् ।

बालुवा बोकेर मौराबाट फर्किरहेको सुपप्र ०१००२त ५५९८ नंको ट्रयाक्टर गएराति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

बिज्ञापन

उनका अनुसार ट्रयाक्टर सडकमै पल्टेर दुर्घटना हुँदा घाइते भएका थारूको जिल्ला अस्पतालमा राति मृत्यु भएको हो ।

घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।