
अहिले पनि कुरा उही उठिरहेको छ, स्थानीय सरकारले देलान् त गाउँमै रोजगारी ! देशमा ३ तहका सरकार छन्, उनीहरूको सदाबहार नारा छ– स्वरोजगारीको सिर्जना र बेरोजगारीको अन्त्य । तर, संघीय सरकारहरू निर्माण र ती सरकारका काम कार्यान्वयनका ४ वर्षहरू पनि त्यतिकै बितिसके । अर्को आवधिक निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ । स्थानीय सरकार निर्माणका लागि मतदानको मिति ‘काउन्ट डाउन’ सुरु भइसकेको छ । राजनीतिक दल र तिनका नेताहरू भोट माग्नका लागि घरदैलो अभियानमा जुटिरहेका छन् । तर, युवाहरू भने वैदेशिक रोजगारका लागि दोपहरको घाममा सेकिँदै उकुसमुकुस लाइनमा दिनहुँ पंक्तिबद्ध छन् ।

देशमा हुने केही होइन रहेछ । फुस्रा धाक, फुक्का गाला र २०० किलोका मालासहित आत्मप्रशंसाको जात्रा चलिरहेछ । उता, जनतामा अहिले आसपछिको अत्यास सुरु भएको छ । गाउँगाउँमा सिंहदरबार पसेको धेरै भइसक्यो । संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि लोकतान्त्रिक ‘हेल्प डेस्कहरू’ जानुपर्ने ठाउँमा पुरानै ‘सिंहदरबार’ झुल्किए । ती सिंहदरबारहरूले आफ्नै विरासत बोकेर त्यहाँ पुगे ।
मुखियाको रवैया, तालुकदारको काम, भजनकीर्तनको लय, आफन्तको रजगज केही छुटेन बरु स्थानीय सरकारका नाममा सिंहदरबारको पुरानो विरासत संस्थागत हुने डर बढ्दै गयो ।गणतन्त्रसँगै नेताहरूको बोलीमा फरक शैली र लयमा नयाँ कुरा आए । नेताहरूले भन्दै गए, ‘अबका दिनमा राजनीतिक आन्दोलन र सङ्घर्ष गर्नुपर्दैन । विकास निर्माणको युग सुरु भयो ।
देशमा बेरोजगारीको अन्त्य हुनेछ । उद्योगधन्दा र कलकारखानाहरू खोलिनेछन् । स्वदेशमै रोजगारी सिर्जना हुनेछ । विदेश जाने दिनहरू सकिए ।’ तर, ती सबै छोटो समयमै झूटा आश्वासनमा परिणत भए ।
अहिले फेरि स्थानीय निर्वाचनको समय आइसकेको छ । गाउँमा फेरि आआफ्ना सिंहदरबार कब्जा गर्ने छिनाझप्टी सुरु भएको छ । नेताहरू भाषण भूषणमा व्यस्त छन् । कार्यकर्ता लडन्तभिडन्तमा व्यस्त हुन थालेका छन् ।



तर, देशका अधिकांश युवाहरू भने वैदेशिक रोजगारीका लागि राहदानी विभागमा दैनिक घण्टौँ लाइनमा समय व्यतीत गरिरहेका छन् । एका कुनामा जनतासँगको भेटघाटमा नेताहरूले दिइरहेका रोजगारी र सहज जीवनयापनका भाषणलाई अर्को कुनामा युवाहरूको वैदेशिक रोजगारीको अविच्छिन्न लाइनले गिज्याइरहेको छ । गाउँमा कृषिजन्य उद्योग निर्माणको सुरसार छैन । कृषिमा आधुनिकीकरणको प्रयास भाषणमा सीमित छ । सिंगो देश उपभोक्ताको बजारमा परिणत हुन पुगेको छ । देश आफैँमा उत्पादन बजार हुन सकेन ।
युवाहरू अबका दिनमा आश्वासनमा रमाउन चाहँदैनन् । उनीहरूले जिउने जीवन यथार्थ छ । यो जीवन परिकल्पना र कलाकारिताभन्दा यथार्थमा बढी परिस्कृत हुँदै गइरहेको छ । समय पनि परिवर्तन भएको छ, देशभित्र जीवन जिउने कलामा पनि स्वतः परिवर्तन आएको छ । विनिमय कला नगदमा रूपान्तरण हुँदै गएको छ । आर्थिकलगायतका सिंगो घरेलु क्रियाकलाप अबका दिनमा स्वदेशी विशिष्टतामा मात्र रहने अवस्थाको अन्त्य भएको छ ।

उपभोग्य अधिकांश सामान देशमा उत्पादन र वितरण गर्न सक्ने हैसियत नेपालको छैन । जीवन उधारोमा चल्ने अवस्था नरहेपछि नगद आर्जनका लागि युवाहरू विदेशिन बाध्य हुँदै गएका छन् । यसले देशबासीको जीवनपद्धति नै नगद लेनदेनको प्रक्रियामा पु¥याइदिएको छ । देश उत्पादनमुखी नबनेपछि उत्पादन शक्तिका रूपमा रहेका युवाहरू विदेशिनु स्वाभाविक र बाध्यात्मक परिणति हो । तर, दुर्भाग्यको कुरो, अहिले स्थानीय सरकारको निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला कुनै पनि दलले रोजगारीका कुरालाई प्राथमिता दिइरहेका छैनन् । पहिलेको आस अहिले अत्यासमा परिणत भएपछि सरकारले स्वदेशमै रोजगारी देलान् भन्ने विश्वास कसरी गर्ने ?
प्रतिक्रिया दिनुहोस्