
मकवानपुर । अर्काको नाममा परीक्षा दिइरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोग र सवारी चालक अनुमतिपत्रको परीक्षा दिन लागिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
लोकसेवा आयोगले लिएको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा कास्की पोखरा महानगरपालिका-२ का ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटी पक्राउ परेका छन् ।हेटौंडा उपमहानगरपालिका-१ मा सञ्चालन भइरहेको लोकसेवा आयोगको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा बास्ताकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।
महोत्तरीका अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी लोकसेवा आयोगको परीक्षाको केन्द्राध्यक्षले तत्काल प्रहरीलाई जानकारी गराएका थिए ।सोही आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको झोलाबाट नगद ५८ हजार ५०० रूपैयाँ र विभिन्न व्यक्तिहरूको ४ थान नागरिकतासमेत फेला पारी प्रहरीले बरामद गरेको छ ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका-११ स्थित यातायात व्यवस्था कार्यालय हेटौंडाले लिइरहेको मोटरसाइकलको सवारी चालक अनुमतिपत्रको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका-७ का २० वर्षीय सन्तोष गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।उनले आफ्नै बुबा नाथ गौतमको ठाउँमा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । यातायात कार्यालयले प्रहरीलाई खबर गराउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।