
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई छाडेको बताएका छन् । एक भिडियोमार्फत थापाले आफूले राजसंस्थाको एजेण्डा छाडेको नभई पूर्वराजा शाहले आफूलाई छाडेको बताएका हुन् ।
उनले २०६२-०६३ सालको राजनीतिक परिवर्तनपछि देश गणतन्त्रमय हुँदा आफूले राजसंस्थाको एजेण्डा अघि सारेको स्मरण गरेका छन् ।
तर, राप्रपाको एकता महाधिवेशनका क्रममा पूर्वराजा र निर्मल निवास आफ्नो राजनीति नै सिध्याउने ढङ्गले उत्रिएको थापाको भनाइ छ । उनले पूर्वराजाले आफू विरुद्ध किन यति ठूलो कठोर कदम चाले भन्नेबारे कुनै बेला मौका पाए ज्ञानेन्द्र शाहलाई सोध्ने पनि बताएका छन् ।
सो घटनापछि आफूले सोचाइमा पुनर्विचार गर्नुपर्ने आवश्यकता महसुस गरेको उल्लेख गर्दै अहिले लोकतन्त्र, हिन्दु राष्ट्र र समृद्धिको एजेण्डा बोकेर हिँड्नुपरेको थापाको भनाइ छ ।
उनले १५ वर्षको राजनीतिक अभ्यासका क्रममा राजनीतिक दल र जनतासँग सम्बन्ध सुधार तथा विश्वास जित्ने बारेमा निर्मल निवासबाट कुनै सकारात्मक काम हुन नसकेको पनि थापाले बताए ।
राजसंस्था, राजनीतिक दल र जनताको बीचको दूरी झन् बढ्दै भएको सन्दर्भमा अब राजसंस्था पुनर्स्थापनाको सम्भावना नभएको थापाको निष्कर्ष छ ।
थापाले यो पृष्ठभूमिमा अब लोकतन्त्र, हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेण्डा बोकेर जानुबाहेक अर्को कुनै विकल्प नरहेको बताएका छन् । यद्यपि राजसंस्थाप्रति आफ्नो सम्मान भने कायमै रहने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्