
सर्लाही । सर्लाहीको लाबन्दीमा कार दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका-१७, स्थित कालिन्जोर पुल नजिकै भारतीय नम्बर प्लेट बिआर ०६ बिएम १५ ३७ नम्बरको कार दुर्घटनामा परेको थियो । दुर्घटनामा कार चालक भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी-२, का अन्दाजी २२ वर्षीय नवीन यादवको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कानबाट रगत बगेको अवस्थामा तत्काल उद्धार गरी गडीमाई अस्पताल लालबन्दी पुर्याइएको थियो । अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको हो । मृतक यादवको सव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ ।
दुर्घटनामा कारमा सवार भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी२, का अतुल कुमार, उमेश भनिने दिव्यान्स यादव, प्रिन्सराज राजपुत, बजरंगी भनिने सौरव यादव र भारतको मुजलफ्फरपुर रामनगरका अजित यादव घाइते भएका छन् ।उनीहरुको पनि लालबन्दीस्थित गडीमाई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।