
एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको छनोट खेलमा उरुग्व र भेनेज्वलाले बराबरी खेलेका छन् । दक्षिण अमेरिकी छनोट अन्तर्गत उरुग्वेले भेनेज्वलासँग गोलरहित बराबरी खेलेको हो ।
भेनेज्वलाको घरेलु मैदानमा भएको खेलमा निर्धारित समय गोल हुन नसकेपछि दुवै टोलीले १–१ अङ्क बाँडेका हुन् । उक्त बराबरीसँगै चौथो स्थानमा रहेका उरुग्वेले ६ खेलमा ८अङ्क जोडेको छ । नवौँ स्थानको भेनेज्वलाले चार अङ्क जोडेको छ ।
उरुग्वे भेनेज्वलाले दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका खेल्नुअघि विश्वकप छनोटको खेल खेलेका हुन् । उरुग्वेले अर्जेन्टिनासँग खेल्दै कोपा अमेरिकाको सुरुवात गर्नेछ । भेनेज्वलाले भने कोपामा पहिलो प्रतिद्वन्द्वीको रूपमा साविक विजेता तथा आयोजक राष्ट्र ब्राजिलको सामना गर्नेछ ।