विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको धारणा राखेका छन् ।

नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतमा निर्माण भएको मानवीय सहायतास्थलको उदघाट्न गर्दै मुख्यमन्त्री शाहीले विपद् जोखिम न्यूनीकरणको पूर्व तयारीमा सबैले ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।

बिज्ञापन

‘विपद्सँग सामना गर्न जनशक्ति परिचालन, उपकरणको उपलब्धता र पूर्व तयारी आवश्यक हुन्छ,’ उनले भने, ‘त्यसका लागि ३ तहका सरकार बीचको समन्वय र सहकार्य नितान्त जरुरी छ ।’ मुख्यमन्त्री शाहीले विपद् जोखिमको प्रतिकार्य, उद्धार, राहतका लागि पूर्व तयारी र समयको सदुपयोग महत्त्वपूर्ण कुरो भएको जनाए ।

यस्ता प्राकृतिक विपद्मा सरकार विकास साझेदारको सहयोग आवश्यक रहेको बताउँदै उनले बेलायत सरकार तथा विश्व खाद्य संगठनको लामो समयदेखिको योगदानको प्रशंसा गरे ।

कर्णालीमा पनि विपद्को उच्च जोखिम रहेकाले यसको पूर्व तयारी लाग्न हरेकले समय र महत्त्व दिएर काम गर्नुपर्ने उनको भनाइ थियो ।