
सुर्खेत । कर्णाली प्रदेशकै ठूलो अस्पतालमा एउटा हृदयविदारक घटना भएको छ । शनिबार बिहानै एउटा कुकुरले भर्खरै जन्मेको जस्तो देखिने बच्चालाई मुखमा च्यापेर अस्पतालको इमरजेन्सी कक्ष बाहिरबाट हिँडिरहेको देखिएको छ ।

वीरेन्द्रनगरका हरि कँडेलले उक्त दृश्य सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । अस्पताल प्रशासनले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । अस्पताल प्रशासनका अनुसार अस्पतालमा सुत्केरी हुँदा कसैको बच्चा मरेमा सम्बन्धित व्यक्तिलाई नै जिम्मा लगाउने गरिन्छ।



तर, अस्पतालभित्रै कुकुरले बच्चा मुखमा च्यापेर हिँडेको विषय भने गम्भीर भएको उनले बताए। ‘यदी अस्पतालले नै बरेको बच्चा व्यवस्थापन गर्नुपर्ने अवस्था आएमा हामी सालनाल डिस्पोज गर्ने ठाउँमा प्याकिङ गरेर गाड्ने गरेका हुन्छौं,’ उनले भने, ‘यसरी जथाभावी फाल्ने अस्पतालको तर्फबाट हुँदैन।’

उनका अनुसार अस्पतालको इमरजेन्सी पछाडि जङ्गल छ। त्यहाँ कसैले बच्चा जन्माएर फालेको पनि हुन सक्ने आशंका उनले गरे। ‘प्रहरीलाई घटना छानबिनका लागि पत्राचार गरिसकेका छौँ,’ उनले भने, ‘प्रहरीको प्रतिवेदनका आधारमा मात्रै घटनाको सही विवरण आउन सक्छ।’