माओवादीसँग गठबन्धन हुँदैन : पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार ढाल्ने शक्तिसँग गठबन्धनको संभावना नरहेको बताएका छन्। भरतपुरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
एमालेसँग गठबन्धनका लागि छलफल सुरु भएको नेकपा माओवादी केन्द्रका नेताहरूको भनाइ झुटो रहेको उनले बताए‘जसले पार्टी विभाजन गरेर हुँदा खाँदाको कम्युनिष्ट सरकार ढालेर अपराध कर्म गर्‍यो त्यो शक्तिसँग गठबन्धन गर्ने भन्ने कुरै हुँदैन,’ उनले भने, ‘दुई पार्टीका नेताहरुका बीचमा भेटघाट हुन सक्छ, भेट हुँदा राजनीतिक विषयमा कुरा, समीक्षा हुन सक्छ तर गठबन्धनका लागि छलफल चलेको भन्ने कुरामा सत्यता छैन।’

माओवादी नेता वर्षमान पुनले आत्मआलोचना गरे एमालेसँग गठबन्धन हुन सक्ने अभिव्यक्ति दिएका थिए। उनले प्रचण्डले लगाउने कुनै पनि छलाङको विषयमा एमाले जानकार रहेकाले त्यसबाट प्रभावित नहुने बताए।

बिज्ञापन

यस्तै वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको चुच्चे नक्सालाई बुच्चे बनाएर भारतप्रति भक्तिभाव देखाएको आरोप लगाए ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भारतको नयाँ दिल्लीस्थित नेपाली दुतावासमा बुच्चे नक्सा राखिएको भन्दै उनले प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।