
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको खोलेको नयाँ शक्ति पार्टी विघटन भएको छ।

भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी तत्कालीन समाजवादी फोरमसँग २०७६ वैशाखमा एकीकरण भई समाजवादी पार्टी भएको थियो। उक्त पार्टी पछि राजपासँग मिलेपछि जसपा बनेको थियो।
भट्टराई अहिले जसपा संघीय परिषद् अध्यक्ष छन्। र एकताका असन्तुष्ट पक्षले नयाँ शक्तिलाई निरन्तरता दिँदै आएका थिए। रविकिरण हमालको नेतृत्वमा नयाँ शक्ति अस्तिस्वमा थियो।
‘हामीले नयाँ शक्ति पार्टीलाई विघटन गर्ने निर्णय गरेका छौँ। मृत्यु भनेको पुनर्जन्म हो।



हामी अझै बढी जिम्मेवारीपूर्वक, परिपक्कता र ऊर्जासहित राजनीतिमा उपस्थित हुनेछौँ,’ रविकिरणले सोमबार पार्टी विघटन गरिएको भन्दै निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

२०७३ जेठ ३० मा दशरथ रंगशालाबाट भट्टराईले नयाँ शक्ति पार्टी खोलेका थिए। त्यसबेला पार्टीमा देखिएको जनलहर, विश्वास र आवद्धतालाई बचाउन नसकिएको रविकिरणले स्वीकार गरेका छन्।
‘यसको प्रमुख जिम्मेवारी तत्कालीन संयोजक बाबुराम भट्टराईलाई केही अंश छाड्दै म स्वयम आफैँ लिन चाहन्छु,’ उनले भनेका छन्, ‘हाम्रा विचार आमनागरिकलाई बोध गराउन नसक्नु र तुरून्तै शक्ति आर्जन गर्ने अभिलाषा पाल्नु दुई कारणले हामीले नयाँ शक्तिलाई स्थापित गर्न सकेनौँ।’