२४ घण्टाको मौसम पूर्वानुमान : कहाँको मौसम कस्तो रहला ?

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अबको २४ घण्टामा देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

महाशाखाको दैनिक बुलेटिनअनुसार बुधबार राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। तर, प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जनसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ।

बिज्ञापन

यस्तै दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। यस्तै प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भने हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाले अहिले बिहान भने प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको उल्लेख गरेको छ । पहाडी तथा हिमाली भूभागमा चाहिँ आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । यस्तै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षा भएको छ ।