काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने तयारी

काठमाडौँ – मेलम्चीको पानी वितरण गर्न काठमाडौं उपत्यकाको चक्रपथ भित्रको क्षेत्रमा १ हजार किलोमिटर पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन इकाइ (पीआईडी)का निर्देशक राजेन्द्र सापकोटाले काठमाडौंको चक्रपथ भित्रको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न १ हजार १० किलोमिटर पाइपलाइन बिच्छ्याइएको जानकारी दिए ।

उनका अनुसार बिच्छ्याइएका पाइपमध्ये हालसम्म ४१० किलोमिटरको परीक्षण भइसकेको छ । परीक्षण गरिएका पाइपबाट मेलम्चीको पानी आउनेबित्तिकै वितरण गर्न सकिनेछ । उनले भने, ‘पाइप परीक्षणका लागि प्रशस्त मात्रामा पानी चाहिन्छ । ट्यांकरको पानीले पुग्दैन । मेलम्चीको पानी आएपछि बाँकी रहेका पाइपको परीक्षण गरिनेछ ।’

थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५.५ किलोमिटर सम्पन्न भइसकेको छ । थोक वितरण प्रणालीको परीक्षण पनि सकिएको जानकारी उनले दिए । उनका अनुसार यांग्री र लार्के खोलाको पानी वितरण प्रणालीमा जडान भएपछि चक्रपथबाहिरको क्षेत्रमा पाइपलाइन विस्तार गरिने योजना छ ।

सुन्दरीजलमा आएको मेलम्चीको पानी भण्डारण गरी वितरण गरिनेछ । उपत्यकामा १० वटा ट्यांकी निर्माण सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार भक्तपुरको कटुन्जे र तिग्नी, काठमाडौंको आरुबारी, महाँकाल चौर, बाँसबारी, कीर्तिपुर, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा ट्यांकी निर्माण सकिएका छन् । १० वटा पानी पोखरीमा ७४ हजार ५०० घनमिटर पानी संकलन हुनेछ । यी पोखरी ३ हजारदेखि ९ हजार ५०० घनमिटर क्षमताका छन् ।

मेलम्चीको पानीलाई सहज र सरल रूपमा उपत्यकावासीको धारासम्म पुर्‍याउन आयोजनाले ‘सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा)’ प्रणाली निर्माण गरिरहेको निर्देशक सापकोटाले बताए ।‘स्काडा’ अनुगमन प्रणाली जडानका लागि ठेक्कापट्टा भई निर्माण शुरू भइसकेको बताउँदै उनले निर्माण कम्पनीले सर्भेको काम शुरू गरिसकेको जानकारी दिए ।