
धनगढी- कैलालीका निर्माण व्यवसायीहरू आन्दोलित भएका छन्।सार्वजनिक खरिद नियमावली २०६४ का केही बुँदाहरू संशोधन हुनुपर्ने, निर्माण सामग्रीमा गरिएको मूल्य वृद्धि हट्नुपर्ने लगायतका मागहरू राख्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा मङ्गलवार शान्तिपूर्ण एक घण्टा धर्ना दिएका हुन्।

सरकारको यो हर्कतले आफूहरूलाई काम गर्न असहज भएको निर्माण व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेश उपाध्यक्ष प्रकाश सेठीले बताए ।



‘मङ्सिरदेखिको मुल्यवृद्धीले हामीलाई घर खेत बेचेर काम गर्ने अवस्था सृजना गराएको छ’, उनले भने, ‘कन्सट्रक्सन होलिडे हाम्रो रहर होइन बाध्यता हो ।’

नेपाल सरकारले म्याद थप खरिद नियमावली २०६४ मा ल्याएको एघारौँ संशोधन व्यवसायीमैत्री नभएको निर्माण व्यवसायी सङ्घ कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले बताए ।
‘यो परिस्थितिमा निर्माण व्यवसायीले काम गर्न सक्दैनन्’, उनले भने, ‘समृद्ध विकासको कडीलाई सरकारले गिज्याएको छ जसको जवाफ स्वरूप हामी होलिडे मनाएका छौँ ।
’ राज्यको विकास निर्माण गर्ने निर्माण व्यवसायीले हो तर घर खेत बेचेर काम गर्ने अवस्था नहुँदा घाटै भए पनि माग सम्बोधनका पक्षमा उभिने उपाध्यायको भनाइ छ ।
त्यस्तै आर्थिक सङ्कटका समयमा सरकारले आफूहरूप्रति विभेदपूर्ण व्यवहार गरेको निर्माण व्यवसायी सङ्घ सुदूरपश्चिम प्रदेश महासचिव लक्ष्मण स्वारले बताए ।