
काठमाडौँ : पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा गोलबल प्रतियोगितामा काठमाडौं र ललितपुर बुधबार पहिलो भएका छन्। ललितपुर पुरुष तथा काठमाडौँ महिलामा पहिलो भएका हुन्।
राष्ट्रिय दृष्टिविहीन खेलकुद संघको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा ललितपुरले भक्तपुरलाई १७–९ गोलले पराजित गर्यो। काठमाडौं तेस्रो भयो।बाग्डोलस्थित काठमाडौं फुटसलमा भएको महिलाको उपाधि भिडन्तमा काठमाडौंले ललितपुरलाई ५–० गोलले हरायो। दुवै समूहका विजेता र उपविजेताले समान १०–१० हजार नगद पुरस्कार प्राप्त गरे। पुरुषमा तेस्रो भएको काठमाडौंले पाँच हजार नगद पुरस्कार पायो।
विजेतालाई दृष्टिविहीन कल्याण संघका महासचिव पवन घिमिरे, ललितपुर महानगरपालिका महिला विकास महाशाखाकी प्रमुख महेश्वरी विष्ट रावल,राष्ट्रिय दृष्टिविहीन खेलकुद संघका अध्यक्ष उपेन्द्र श्रेष्ठलगायतले पुरस्कृत गरे।पारा राष्ट्रिय खेलकुदमा विभिन्न १२ खेलको स्पर्धा समावेश गरिएको थियो। जेठ १५ गतेसम्म बाँकी ११ खेलका प्रतिस्पर्धा सम्पन्न हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागकी प्रशासकीय अधिकृत दीपा बाँस्तोलाले जानकारी दिइन्।