कांग्रेस प्रदेश २ को नेतृत्व चयन गर्न मतदान सुरु

काठमाडौँ : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएकोले आज मतदान सुरु गरिएको हो । ६७ पदका लागि बिहान ९ बजे सुरु मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन समितिका सदस्य विनय सिंहले जानकारी दिए ।

अहिले जनकपुरस्थित गोपाल धर्मशालामा मतदान भइरहेको छ । प्रदेश सभापतिका उम्मेदवारहरु कृष्ण यादव र रामसरोज यादवले भोट खसाल्दै मतदानको सुरुआत गरेका थिए।

बिज्ञापन

निर्वाचन समितिका अनुसार ४ वटा बुथमा मतदान भइरहेको छ। नयाँ नेतृत्व चयनका लागि १९८० मतदाताले मतदान गर्ने छन्। प्रदेश २ मा सभापतिका लागि शेरबहादुर देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन्।

त्यस्तै, विमलेन्द्र निधि पक्षबाट रामसरोज यादव प्रतिस्पर्धामा छन्। उनलाई १४औं महाधिवेशनमा सभापतिमा पराजित शेखर कोइरालाको पनि साथ छ। सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।