काठमाडौँका मेयर बालेनलाई शुभकामना दिँदै केशव स्थापितले भने– ‘सहयोग रहने छ’

काठमाडौँ — काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहलाई शुभकामना दिँदै नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेदवार केशव स्थापितले काठमाडौँको विकास र समृद्धिमा चाल्ने सकारात्मक कदममा सहयोग गर्ने बताएका छन् ।वैशाख ३० गते भएको स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७ सय ६७ मत प्राप्त गरी विजयी भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंह रहिन् । एमालेका स्थापित तेस्रो रहे ।

‘निर्वाचनमा पराजय भोग्दै गर्दा ‘काठमाडौँ महानगरपालिका’ मा मेयर पदमा निर्वाचित बालेन शाहलाई म शुभकामना भन्न चाहन्छु । काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक मतपत्रको तपाईँले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएका छु,’ स्थापितले भनेका छन् ।आफू पटकपटक धुलो टक्टक्याएर उठेको व्यक्ति भएको भन्दै स्थापितले भने, ‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्य रूपमा लिएको छु । काठमाडौँ म र मेरो पुस्तौँ–पुस्ता जन्मिएको माटो हो । त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको संस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ । ‘

बिज्ञापन