अधुरै रह्यो को-पाइलट उत्सवको आमा भेट्ने सपना

सुर्खेत । आइतबार दिउँसो १ बजे आमासँग भेट्ने सपना वाचा गरेका थिए, दुर्घटनाग्रस्त तारा एयरका को–पाइलट, उत्सव पोखरेलले । रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ३ का पोखरेलले बिहानै टेलिफोन गरेर भनेका थिए, ‘दिउँसो काठमाडौं आउँछु, अनि आमासँग भेट्छु ।’

तर उनको आमा भेट्ने सपना अधुरै रह्यो । हिजोदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त स्थितिमा आज बिहान भेटिएसँगै उनको आमा भेट्ने सपना अधुरो भएको पुष्टि भएको हो ।‘हिजो बिहान फोन गरेर दिउँसो एक बजे काठमाडौं फर्किन्छु भनेको थियो’, उत्सवका बुवा मणिराम पोखरेलले भने, ‘उसले भिडियो कल गरेर पोखरा लुक्लाको पाँच उडान भरेर काठमाडौं फर्किने भनेको थियो । तर, दैवले अब कहिल्यै भेट गराउँदैन जस्तो छ ।’

बिज्ञापन

२५ वर्षका पोखरेलले जाजरकोटको बागेश्वरी माविबाट एसएलसी दिएका थिए । त्यसपछि प्लस ‘टु’हुँदै को–पालटको तालिम लिन उनी फिलिपिन्सको रोयल एकेडेमीमा भर्ना भएका थिए ।उत्सवका दाइ उमेश पनि पाइलट पढ्न फिलिपिन्समा गएका छन् । बुवाले अब उमेशलाई पनि पाइलट नपढाउने निधो गरेका छन् ।उत्सव को–पाईलट बनेको दुई वर्ष मात्रै भएको थियो । उनले विवाह गरेका थिएनन् ।