कीर्तिपुरमा लागुऔषध लुट्ने क्रममा साथीको हत्या, दुई पक्राउ

काठमाडौंको कीर्तिपुरमा लागुऔषध लुट्ने क्रममा साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन छन् । उनीहरुले आफ्नै साथी चन्द्रागिरी नगरपालिका–१० बोसिगाउँ बस्ने उदयपुर तामिल्छा नगरपालिका–८ घर भएका २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

आइतबार कीर्तिपुर ढल्पाको सडकमा खत्रीलाई कुटपिट गरी उनीहरुले हत्या गरेको आरोप छ । कुटपिटको खबर आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । घाइते खत्रीलाई कीर्तिपुर अस्पताल लगे पनि उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनास्थलबाटै दुवै जना पक्राउ परेका हुन् । मृतकको झोलाबाट नियन्त्रित लागूऔषध डाइजापाम ३१ एम्पुल, फेनारगन ६४ एम्पुल र नुरफिन ७२ एम्पुल प्रहरीले बरामद गरेको छ । प्रहरीले कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भइसकेको र बुधबार म्याद थप गर्ने तयारी रहेको जनाएको छ ।