मोटरसाइकलको ठक्करबाट घाइते भएका श्रेष्ठको मृत्यु, चालक र धनीविरुद्ध जाहेरी

खोटाङ । मोटरसाइकलको ठक्करबाट घाइते भएका राप्रपाका नेता जीवनकुमार श्रेष्ठको मृत्यु भएपछि मोटरसाइकल चालक र धनीविरुद्ध सवारी कर्तव्य ज्यान अन्तर्गत जाहेरी परेको छ । प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकको ठक्करबाट घाइते भएका श्रेष्ठको आइतबार निधन भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका १७ वर्षीय अभिशेष राईले चलाएको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । मोटरसाइकलका धनी भने उदयपुरको त्रियुगा नगरपालिका–१ का सविन राई हुन् । उनीहरू दुवैविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सवारी कर्तव्य ज्यान अन्तर्गतको जाहेरी दर्ता भएको हो ।आफन्तसहित जिल्ला प्रहरी कार्यालय पुगेका मृतक श्रेष्ठका अन्तरे भाई रुद्रकुमार श्रेष्ठले सोमबार जाहेरी दिएका हुन् । उनीहरूले घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

बिज्ञापन

२० जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको मोटरसाइकलले सपिङ कम्प्लेक्स अगाडि श्रेष्ठलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको न्युरो अस्पतालमा उपचारका क्रममा २२ जेठमा निधन भएको थियो । तीव्र गतिमा रहेको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएपछि श्रेष्ठको टाउको र छातीमा गहिरो चोट लागेको थियो ।श्रेष्ठ राप्रपा खोटाङका निवर्तमान अध्यक्ष थिए । करिब १५ वर्ष पार्टीको जिल्ला अध्यक्षको भूमिका निर्वाह गरेका उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए । जिल्लामा भ्रष्टाचार र बेथितिकाविरुद्ध निडरताका साथ खुलेर बोल्ने र विरोध गर्ने नेताका रुपमा उनी परिचित थिए ।