आज त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने

काठमाडौँ ।  त्रिभुवनअन्तर्राष्‍ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने भएको छ ।

दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म हवाई उडानसँग सम्बद्ध संकटकालीन योजना अनुसार पूर्ण संकटकालीन अभ्यास गर्नुपर्ने भएकाले केही समय नियमित उडान प्रभावित हुने भएको हो ।

‘परिकल्पना गरिएको घटना अनुसार अभ्यासको क्रममा विमानस्थल परिसरमा कनै वायुयान दुर्घटना भई आगलागी हुने जसको कारण विमानस्थल वरिपरिको आकाशमा काला धुवाँको मुस्लो देखिनेछ । घटनाको प्रतिकार्यको लागि दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आएको देख्न सकिनेछ,” त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल नेपाल नागरिक उड्ययन प्राधिकरणले भनेको छ, “यो अभ्यासको क्रममा स्थानीय समय अनुसार ५ बजेदेखि साढे ३ बजेसम्म विमानस्थलका नियमित उडान अवतरण प्रभावित हुन सक्नेछन् ।’