गृहमन्त्री खाणले हैजाबारे सम्बन्धित पक्ष र सुरक्षा निकायका प्रमुखसँग  गरे छलफल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले काठमाडौंलगायतका स्थानमा देखा परेको कलेरा (हैजा)बारे सम्बन्धित पक्ष र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्।गृहमन्त्री खाणले शनिबार बिहान स्वास्थ्य सचिव डाक्टर रोसन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रहरी अस्पतालका प्रमुख डाक्टर आशा सिह, सशस्त्र प्रहरी अस्पतालका प्रमुख रुपक महर्जनसङ्ग केही दिनदेखि देखा परेको कलेराको अवस्था र रोकथाम गर्न के गर्नुपर्छ भनेर छलफल गरेका हुन् ।

उनले खानेपानीको अवस्था ठीक नभएमा पानीको परीक्षण कसरी गर्ने, त्यसका लागि तयारी के छ ? भनेर जानकारी लिए। सङ्क्रमित विरामीको उपचारबारे पनि उनले जानकारी लिएका छन्। सशस्त्र प्रहरी अस्पतालका प्रमुख डाक्टर महर्जनले कलेराको अहिलेको अवस्था र रोकथामबारे भएका तयारीबारे गृहमन्त्री खाणले जानकारी लिएको बताए।

बिज्ञापन

गृहमन्त्री खाणले अवस्था जटिल बन्दै गएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्योजनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका चिकित्सकहरूले पनि कलेराको रोकथाम र नियन्त्रणमा खटिनु पर्ने अवस्था आउन सक्ने भन्दै गृहमन्त्री खाणले त्यसकालागि तयारी अवस्थामा रहन निर्देशन दिए । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यारेकमा खानेपानीको अवस्थाबारे जानकारी लिदै जवानहरूलाई कलेराले प्रभावित पार्न नदिन विशेष ध्यान दिन पनि आग्रह गरे ।