वामदेवको अभियानले गति लिँदैन : एमाले नेता गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिस्ट नेता वामदेव गौतमले चलाएको नेकपा एकता अभियानले गति लिनेमा विश्वास नरहेको बताएका छन् ।

आइतबार केन्द्रीय सचिवालयको बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै गुरुङले गौतम नेतृत्वको अभियानप्रति एमालेलाई विश्वास नरहेको पनि बताए । ‘त्यसले ठुलो प्रभाव पार्ला, गति लेला र राजनीतिको शक्ति सन्तुलनमा प्रभाव पार्ला भन्ने विश्वास नै छैन’, गुरुङको भनाइ छ ।

उनले सत्तारुढ गठबन्धन कायम रहन्छ भन्ने पनि एमालेलाई विश्वास नगरेको बताए । ती पार्टीहरूमा गुटहरु देखापरेको, आफै भित्र विभिन्न गुटहरु विकास भएको उनको भनाइ छ । जनता समाजवादी पार्टी विभाजनमा रहेको भन्दै त्यसले पनि सत्ता गठबन्धन भत्किने सम्भावना रहेको बताए ।

‘गठबन्धन सग्लो रुपमा रहला भन्ने हामीलाई विश्वास छैन तर गठबन्धनले गरेका राष्ट्रविरोधी गतिविधिको हामी भण्डाफोर गर्छौ’, नेता गुरुङको भनाइ छ । उनले नेकपा एमाले अहिले पनि एक नम्बरको पार्टी भएको भन्दै त्यही जगमा टेकेर आगामी निर्वाचनको तयारी गर्ने बताए । उनले नेकपा एकीकृत समाजवादीका केही नेताहरुसँग अनौपचारिक कुराकानी हुने गरेपनि खासै कुनै प्रगति नभएको बताए ।