
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको मंगलगढी चोकमा रहेको आदर्शराज सेकेन्डरी स्कुलले कक्षा १२ का २५ जना नियमित विद्यार्थीलाई निकालेको छ । समयमै भर्ना शुल्क नबुझाएको आरोप लगाउँदै उनीहरूलाई आज बिहानबाट पठनपाठनमै रोक लगाइएको हो ।व्यवस्थापन संकायअन्तर्गत कक्षा ११ बाट पास भएर ४५ विद्यार्थी कक्षा १२ मा अध्ययनरत् थिए । तीमध्ये २० जनाले मात्र रकम बुझाएको बाँकी २५ जनाले नतिरेको भन्दै बिहान ६ बजे पढ्न गएकाहरूलाई विद्यालय प्रशासनले निकालेको हो ।‘हामी यहाँका नियमित विद्यार्थी हौं । भर्ना फिस हामी बुझाउँछौ भन्दा पनि हामीलाई पढ्न दिइएन’, एक विद्यार्थीले भने ।भर्ना शुल्क बुझाउने तयारी गरिरहँदा विद्यालयले अपमानजनक तरिकाले विद्यार्थीलाई निकालेको अभिभावकले गुनासो गरेका छन् । ‘बच्चालाई विद्यालयबाट लखेटेर के हुन्छ ? उनीहरूको मस्थिति के भयो ? किन विद्यालयले हामीलाई फोन गरेर पैसा नमागेको ? यो विद्यालयको दादागिरी हो ’, एक अभिभावक भन्छन् ।

विद्यालयका भाइस प्रिन्सिपल रमेश बस्नेतले बारम्बार भर्ना फिस लिएर आउन भनेपनि अटेर गरेकाले विद्यार्थीलाई निकालिएको स्वीकारे ।‘हो २५ जनालाई आज हामीले निकालेका हौं । उनीहरुलाई बारम्बार फिस ल्याउन भनेका थियौं नल्याएपछि त्यो काम गर्न बाध्य भएका हौं’, उनले भने, ‘शनिबार र आइतबार भर्ना हुन भनेर समय दिएर पठाएका छौं ।’जिल्ला शिक्षा समन्वय इकाइ सुर्खेतका प्रमुख भोजप्रसाद लम्साल विद्यार्थीलाई भर्ना नभएको बहानामा पढाइबाटै वञ्चित गर्न नमिल्ने बताउँछन् ।‘कक्षा १२ मा विद्यार्थीहरू भर्ना हुनैपर्छ । फिस पछि दिने गरी विद्यालयले उनीहरूको नाम लेख्न पर्छ । अर्को विद्यालयमा विद्यार्थी जानै नपाउने भएका कारण विद्यार्थीको भविष्य डामाडोल हुने गरी त्यस्तो काम गर्न पाइँदैन । त्यही विद्यालयबाट रजिष्ट्रेसन फाराम भरिसकेका कारण विद्यार्थी अन्य विद्यालयमा पनि जान पाउँदैनन् । विद्यालयले जसरी पनि ति विद्यार्थीलाई अध्ययन गर्ने वातावरण मिलाउनुपर्छ ’, लम्सालले भने ।सुर्खेतका सीडीओ खगेन्द्र रिजाल विद्यार्थीप्रति स्कुलको यो व्यवहार कानूनविपरीत भएको बताउँछन् । ‘यसबारेमा म कुरा गर्छु । त्यसरी विद्यार्थीलाई नै हतोत्साही हुने गरी काम गर्न त भएन नि ? के भएको रहेछ म बुझ्छु र आवश्यक कानूनी कुरा गर्छु ’, रिजालले भने ।



