
रौतहटमा चार वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

ईशनाथ नगरपालिका-७ बस्ने २४ वर्षीय महमद अविर हुसैनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।



बिहीबार साँझ आफ्नै घर बाहिर खेल्दै गरेको अवस्थामा बालिकालाई नदेखेपछि खोजी गर्ने क्रममा पीडितको आफन्तलाई अपरिचित व्यक्तिले फोन गरेका थिए।

फोनमा बालिकालाई अपहरण गरी बन्धक बनाइराखेका र २० लाख रुपैयाँ लिएर राजपुर नगरपालिकाको इद्रिश गेटमा लिएर आउनु भनेका थिए।
रकम नल्याएमा र फिरौती मागेको कुरा कसैलाई भनेमा बच्चाको ज्यान मार्ने धम्की दिएका थिए। सो सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले बालिकाको उद्धार गरेको थियो।
राजपुर नगरपालिका-१ बहुअर्वा मदर्सा अगाडि सडक छेउमा रहेको पसल नजिकबाट ती बालिकाको उद्दार गरेको थियो।
घटनामा प्रयोग गरेको बीआर ०५ एएफ ०२८२८ नम्बरको मोटरसाइकलसहित हुसैनलाई प्रहरीले पक्राउ गरेको हो।
उनीमाथि अपहरण तथा शरिर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालत रौतहटबाट ५ दिन म्याद थप अनुमती लएर थप अनुसन्धान अघि बढाएको छ।