
सप्तरी । बोदे बर्साइन नगरपालिकामा सिलिन्डर पड्केपछि भएको आगलागीमा ३ जना घाइते भएका छन्। बोदे बर्साइन नगरपालिका–१० खडगपुरका खगेन्द्र यादवको घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा आगो निभाउने क्रममा ३ जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सो घटनामा आगो निभाउन गएका कारी दास, महेश यादव र धीरेन्द्र यादव जलेर घाइते भएका छन्। प्रहरीका अनुसार यादवको घरमा एकै पटक ३ वटा ग्यास सिलिन्डर पड्किएको थियो।
आगलागीमा घरमा रहेको नगद १ लाख ५० हजार, ३ तोला सुन, ३ किलो चाँदी, ८ क्विन्टल चामल, २० क्विन्टल धान, १ क्विन्टल चना, ४० किलो तोरी, १ थान साइकललगायत सामान जलेर पूर्ण रुपमा नष्ट भएको घरधनी यादवले जानकारी दिएका छन् ।