चुनाव केन्द्रित भएर लाग्न नेता कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन

काठमाडौं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । आगामी चुनावबाट एमाले सरकारमा फर्किनुपर्ने भन्दै त्यसको तयारी गर्न भन्दै ओलीले नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले आज उक्त निर्देशन दिएका हुन् ।

देशले समृद्धिको विकासको जुन लय समातेको थियो, त्यस लयलाई फेरि प्राप्त गर्ने र अगाडि बढाउने, बाटोमा लान सक्ने त्यस्तो सरकारको गठन आगामी निर्वाचनबाट गर्नुपर्ने छ भन्दै ओलीले सो उद्देश्य प्राप्त गर्ने गरी अगाडि बढ्नुपर्ने बताए ।

उनले आगामी मंसिरमा चुनाव हुनैपर्ने भन्दै यसबीचमा भ्रष्टाचार र बेथितिविरुद्ध संघर्ष गर्नुपर्ने र जनतालाई सरकारले दिएका पीडालाई अन्त्य गर्नुपर्ने पनि बताए ।

राष्ट्रियता, विकास, सुशासनलाई उपयुक्त ढंगले बढाउन एमालेको सरकारले मात्र सक्ने ओलीले दाबी समेत गरेका छन् । उनले सरकारले विभिन्न बहाना बनाएर निर्वाचनको मिति पछि सार्ने प्रयास गरिरहेको पनि बताए ।